पदोन्नत तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

पदोन्नत तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई कानुन कार्यान्वयनमा दृढ र नागरिकसँगको व्यवहारमा संवेदनशील बन्न आग्रह गरिन्।

  • कुराकानी

  • बुधबार, साउन २०, २०८३

  • 0
    SHARES
पदोन्नत तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

कुराकानी। काठमाडौं महानगरपालिकाले पदोन्नति भएका तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ।

नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका रामेश्वर उपाध्यायलाई बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले कार्यवाहक प्रमुख सुनिता डंगोल र सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

महानगर कार्यपालिकाको साउन १९ गतेको बैठकले तीनै जनालाई माथिल्लो दर्जामा कायममुकायम मुकरर गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई कानुन कार्यान्वयनमा दृढ र नागरिकसँगको व्यवहारमा संवेदनशील बन्न आग्रह गरिन्। अनुकूल वा प्रतिकूल जुनसुकै परिस्थितिमा पनि संगठन र पदीय जिम्मेवारीप्रति उत्तरदायी रहनुपर्ने बताउँदै उनले विवादभन्दा नागरिकको विश्वास जितेर सेवा दिनुपर्नेमा जोड दिइन्। नगर प्रहरीको वृत्ति तथा क्षमता विकासमा महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले नगर प्रहरी सेवामा तहगत पदपूर्तिका लागि समिति गठन भइसकेको र वृत्ति विकासको प्रक्रिया अघि बढेको जानकारी दिए। जनसरोकारका विषयमा काम गर्ने महानगरको छवि जोगाउने गरी जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरे।

सुशासन समितिका संयोजक तिवारीले पनि नागरिकले नगर प्रहरीमाथि गरेको विश्वासलाई थप मजबुत बनाउने गरी काम गर्नुपर्ने बताए।

कार्यक्रममा वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी, वडा नं. १० का सदस्य सतीश तण्डुकार, विभागीय प्रमुख तथा नगर प्रहरी अधिकारीहरूको उपस्थिति थियो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology