काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालले पदबहाली गरे

काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालले पदबहाली गरे

साउन २० गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार अर्याल पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा भएका हुन् ।

  • कुराकानी

  • बुधबार, साउन २७, २०८३

  • 0
    SHARES
काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालले पदबहाली गरे

कुराकानी। काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पदबहाली गरेका छन् । बुधबार पदबहाली गरेका अर्याललाई महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्दै महानगरका नीति, योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कुशल नेतृत्वको अपेक्षा गरेकी छन् ।

कार्यवाहक प्रमुख डंगोलले सेवा प्रवाह सुधार, कर्मचारी प्रशासनलाई अनुशासित र मर्यादित बनाउन तथा कर्मचारी र जनप्रतिनिधिबीच समन्वय कायम गर्न प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले बहुस्तरीय पार्किङस्थल निर्माण, भृकुटीमण्डपमा मेगाहल निर्माण, नेपाल सरकारसँग भएका सम्झौताअनुसार महानगरले प्राप्त गर्नुपर्ने सम्पत्ति प्राप्त गर्ने लगायत ठूला आयोजना अघि बढाउन संघ सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । सुस्त गतिमा रहेका योजनालाई तीव्रता दिन पनि उनले अर्याललाई आग्रह गरिन् ।

‘सेवा प्रवाह, अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ,’ डंगोलले भनिन्, ‘कर्मचारी र जनप्रतिनिधिबीच समन्वय र सहजीकरण गर्दै केही सुस्त रहेका योजनालाई तीव्र रूपमा अघि बढाउनुपर्छ ।’

उनले अर्यालको कार्यकाल महानगरवासीका लागि फलदायी र महानगरपालिकाको सार्वजनिक छवि उच्च बनाउन स्मरणीय हुने विश्वास व्यक्त गरिन् ।

वि.सं. २०६६ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०७३ मा उपसचिव र २०८० मा सहसचिव भएका हुन् । उनी पछिल्लो एक वर्षदेखि पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । यसअघि उनले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए ।

साउन २० गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार अर्याल पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा भएका हुन् । यसअघि काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका सरोज गुरागाईं उमेर हदका कारण साउन २० गते अनिवार्य अवकाशमा गएका थिए ।

पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा अर्यालले काठमाडौँ महानगरपालिकालाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

उनले कर्मचारी प्रशासनमा तटस्थता र आचार–आचरणलाई प्राथमिकतामा राख्ने बताए । साथै, सेवाग्राहीको आवश्यकता र छनोटका आधारमा सामूहिक निर्णयमार्फत कार्यक्रम कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

‘काठमाडौँबाट अहिले पनि धेरै पालिकाले धेरै कुरा सिकिरहेका छन् । महानगरपालिकाका अन्य कामलाई पनि सिकाइयोग्य बनाउनुपर्छ,’ अर्यालले भने, ‘यसका लागि कर्मचारी तटस्थता हाम्रो मुख्य आचरण हो । कर्मचारीका आचार र आचरणमा कतै पनि कमजोरी हुन दिनुहुँदैन ।’


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology