कुराकानी। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भइरहेको खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो। यद्यपि अन्तिम खेलमा हङकङसँग नेपाल १५ रनले पराजित भएको थियो।
ओमान भने समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो। ओमानले समूह चरणमा सिंगापुर र कतारलाई पराजित गरेको थियो भने कुवेत र यूएईसँग पराजित भएको थियो।
नेपाल र ओमानबीचको पछिल्ला पाँच खेलमा दुवै टोलीले दुई–दुई खेल जितेका छन् भने एक खेल रद्द भएको छ। त्यसैले आजको सेमिफाइनललाई निकै प्रतिस्पर्धात्मक खेलका रूपमा हेरिएको छ।
यो खेल जित्ने टोली एसीसी प्रिमियर कपको फाइनलमा पुग्नुका साथै आगामी एसिया कपमा स्थान बनाउनेछ। अर्को सेमिफाइनलमा यूएई र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।
खेल सुरु हुँदाको अवस्था: नेपालले पहिलो इनिङ्समा ब्याटिङ थालेको छ। सुरुवातमा आसिफ शेख र देव खनालले ओपनिङ गरेका थिए। पछिल्लो अपडेटअनुसार नेपाल ७.४ ओभरमा २६ रनमा २ विकेट गुमाएको अवस्थामा थियो। देव खनाल १३ रन बनाएर आउट भएका छन्।
नेपालको प्लेइङ–११: देव खनाल, आसिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी, शेर मल्ल र बासिर अहमद।