कुराकानी। सामाजिक सञ्जालमा अहिले एउटा फरक खालको ट्रेन्ड चलिरहेको छ- ८० को दशकमा फर्किने ट्रेन्ड। एआईको प्रयोग गरेर अहिलेका तस्बिरलाई ८० को दशकको फिल्म, फेसन र फोटोशुटको शैलीमा परिवर्तन गर्ने क्रम बढेको छ।
यो ट्रेन्डमा नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरू पनि जोडिएका छन्। अभिनेत्री प्रियंका कार्की, नम्रता सापकोटा, एलिजा गौतम, वर्षा राउत, स्वेता खड्का, शिल्पा पोखरेल र रिचा शर्मालगायतले एआईबाट तयार पारिएका आफ्ना रेट्रो लुकका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। गायक दुर्गेश थापा र रचना रिमाल पनि यही ट्रेन्डमा देखिएका छन्।
एआईबाट बनाइएका यी तस्बिरमा उनीहरूलाई ८० को दशकको पहिरन, हेयरस्टाइल, मेकअप र फोटो खिच्ने शैलीमा प्रस्तुत गरिएको छ। कतिपय तस्बिर हेर्दा पुराना नेपाली फिल्मका पोस्टर वा त्यतिबेलाका म्यागजिनका कभरझैँ देखिन्छन्।
विशेषगरी ८० को दशकमा लोकप्रिय रहेको रंगीन तर अलि ‘ग्रेनी’ फोटोको लुक, स्टुडियो ब्याकग्राउन्ड, पुरानो क्यामेराबाट खिचेजस्तो देखिने टोन, त्यतिबेलाको फेसन र पोजलाई एआईले अहिलेका सेलिब्रेटीको अनुहारमा जोडेको छ।
अहिलेको पुस्ताका लागि ८० को दशक आफैंमा एउटा ‘रेट्रो’ समय हो। तर त्यही समयको फेसन र सौन्दर्यलाई एआईमार्फत अहिलेका सेलिब्रेटीमा हेर्न पाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि यो ट्रेन्ड झन् रोचक बनेको छ।
सेलिब्रेटीहरूले आफ्ना तस्बिर पोस्ट गरेपछि कमेन्ट र प्रतिक्रियामा पनि उनीहरूको ’80s लुक’ को चर्चा भइरहेको छ। कसैले पुरानो फिल्मको पात्रजस्तो देखिएको प्रतिक्रिया दिएका छन् भने कतिपयले अहिलेको भन्दा पुरानो शैली नै झन् सुहाएको बताएका छन्।
यसरी एआईको नयाँ प्रविधिले नेपाली सेलिब्रेटीहरूलाई केही दशक पछाडि पुर्याएको छ। वास्तविक जीवनमा ८० को दशकमा फर्किन नसके पनि केही क्लिकमै त्यतिबेलाको लुकमा देखिन सकिने भएपछि सेलिब्रेटीहरूदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म यो ट्रेन्डमा रमाइरहेका छन्।
८० को दशकको लुकमा यीमध्ये तपाईंलाई कसको तस्बिर सबैभन्दा राम्रो लाग्यो?







