कुराकानी। केही मानिससँगको भेट छोटो हुन्छ, तर त्यसले मनमा छाडेको प्रभाव भने लामो समयसम्म रहिरहन्छ। श्रीगोपाल प्रजापति बुवा त्यस्तै एउटा विशिष्ट व्यक्तित्व मध्ये एक बने मेरो जीवनमा।
उनिसँग मेरो भेट कुनै औपचारिक कार्यक्रम वा सामान्य समाचार सङ्कलनको सिलसिलामा मात्रै सिमित भएन। उनिसँगको भेटमा लाग्थ्यो, म कुनै एक व्यक्तिसँग होइन, मध्यपुर थिमिको लामो र जीवन्त सांस्कृतिक इतिहाससँग संवाद गरिरहेकी छु।
उकेरामा काम गर्दा मैले श्रीगोपाल बुबालाई नजिकबाट बुझ्ने अवसर पाएकी थिएँ। त्यही भेटपछि उनको कथा मैले फोटोसँगै शब्दमा उतारेकी थिएँ।
‘कला र संस्कृति जगेर्नामै जीवन समर्पण गरेका श्रीगोपाल, जो प्रधानपञ्च हुँदा समेत नाच्न छाडेनन्’ शीर्षकमा प्रकाशित त्यो फोटो फिचर मेरो लागि केवल पत्रकारिताको नियमित काम मात्र थिएन, उनीसँग बिताएको समय, उनका अनुभव, मुहारको चमक र संस्कृतिप्रतिको अगाध समर्पणलाई क्यामेरामा कैद गर्ने एउटा स्मरणीय यात्रा पनि थियो।

अव उनि हामीमाझ रहेनन्। श्रीगोपाल प्रजापतिको ९८ वर्षको उमेरमा कोरियन अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको छ। खबर सुन्नासाथ सबैभन्दा पहिले मनमा त्यही भेटको स्मृति ताजा भएर आयो।
क्यामेराको लेन्सबाट हेर्दा उनी उमेरले पाको वृद्ध देखिन्थे, तर कुराकानी सुरु भएपछि त्यो उमेरभन्दा निकै पुरानो र विशाल संसार देख्न पाएको थिए। उनलाई हेर्दा मध्यपुर थिमिका जात्रा, नाच, बाजा, गुरु–शिष्य परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कृतिहरू अनुहारमै छताछुल्ल देखिन्थे।
वि.सं. १९८७ मा जन्मिएका श्रीगोपाल सानैदेखि कला र संस्कृतिसँग जोडिएका थिए। छ वर्षकै उमेरमा गाईजात्रामा परम्परागत नाच नाच्न थालेका उनले पछि धिमाय्, पछिमा, ढोलक, धाँ र बाँसुरीलगायतका बाजा बजाउन सिके। भैरव, महाकाली, लाखे, इन्द्र-अप्सरा र अष्टमात्रिकालगायतका परम्परागत नृत्यबारे उनमा गहिरो ज्ञान थियो।
तर उनको परिचय कलाकारमा मात्र सीमित थिएन; उनि समाजका एक अग्रणी अभिभावक पनि थिए।
वि.सं. २०१८ मा वडा सदस्यका रूपमा सार्वजनिक जिम्मेवारीमा प्रवेश गरेपछि श्रीगोपाल विभिन्न निर्वाचनमा प्रधानपञ्च निर्वाचित भए। तर पदको गरिमाले उनलाई संस्कृतिबाट कहिल्यै टाढा बनाएन। बरु, प्रधानपञ्चको जिम्मेवारीमा छँदा पनि उनि जात्रा र पर्वमा आफैँ अग्रसर भएर नाच्थे।

उनले सुनाएको एउटा प्रसङ्ग अझै पनि मेरो मानसपटलमा ताजै छ। उनले भनेका थिए,‘प्रधानपञ्च हुँदा समेत म आफैँ नाच्थेँ। मान्छेहरूले देखेर ओहो श्रीगोपाल प्रधानपञ्च नाचेको हेर त भन्दै जिस्काउँथे।’
यो प्रसङ्ग सुनाउँदा उनको अनुहारमा एउटा अलग्गै चमक देखिन्थ्यो। त्यो चमक पद वा शक्तिको थिएन, आफ्नो माटो र संस्कृतिप्रतिको अगाध प्रेमको थियो।
मध्यपुर थिमिको परम्परागत भैरव नाच लोप हुने अवस्थामा पुगेपछि त्यसलाई पुनःस्थापित गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। गुरुका रूपमा उनले आफूले जानेको नृत्य, संगीत र वाद्यवादन नयाँ पुस्तामा हस्तान्तरण गरिरहे।
उनको सांस्कृतिक योगदान पछिल्ला वर्षसम्म पनि निरन्तर रह्यो। २०२२ सालतिर प्रकाशित एक रिपोर्टमा उनको निर्देशन र अभिभावकत्वमा दशकौँदेखि रोकिएको महाकाली नाच पुनःजागृत गरिएको उल्लेख छ। मध्यपुर थिमि नगरपालिकाले उनको योगदानको कदर गर्दै जीवित सांस्कृतिक धरोहरका रूपमा सम्मान समेत गरेको थियो।
उनका लागि संस्कृति प्रदर्शन गर्ने विषय मात्र थिएन, त्यो त उनको जीवन पद्धति नै थियो।

सायद त्यसैले होला, उमेरले शरीर शिथिल बनाउँदै लैजाँदा पनि संस्कृतिप्रतिको उनको निष्ठा र मोह कहिल्यै कमजोर भएन।
फोटो खिच्ने क्रममा मैले उनको अनुहारमा उमेरका धेरै तहहरू देखेकी थिएँ। निधारका चाउरीमा बितेका समयका डोबहरू थिए, आँखामा पुराना सम्झनाहरू र बोलीमा थिमिका ऐतिहासिक जात्रा एवम् नाचका कथाहरू।
क्यामेरा थामिरहँदा कहिलेकाहीँ लाग्थ्यो, म केवल एउटा मानिसको फोटो खिचिरहेकी छैन, एउटा पुरै युग र समयलाई कैद गरिरहेकी छु।
त्यतिबेला उनि ९४ वर्षका थिए। उमेरका कारण शरीरले पूर्ण साथ नदिए पनि संस्कृतिका कुरा गर्दा उनको आवाजमा छुट्टै ऊर्जा र उत्साह सञ्चार हुन्थ्यो। नाच्न नसके पनि नाचको सूक्ष्म भन्दा सूक्ष्म ज्ञान उनिसँग थियो। बाजा बजाउने हातहरूमा उमेरको असर देखिए पनि नयाँ पुस्तालाई सिकाउने चाहना उत्तिकै तीव्र थियो।
त्यो भेट सकियो। फोटो खिचियो। फिचर पनि प्रकाशित भयो। समय बित्दै गयो। तर पत्रकारिताका क्रममा खिचिएका कतिपय तस्बिरहरू केवल तस्बिर मात्रै बनेर रहँदा रहेनछन्। समय बित्दै जाँदा तिनले आफ्नै एउटा ऐतिहासिक अर्थ र मूल्य ग्रहण गर्दा रहेछन्।
आज श्रीगोपाल बुवा हामीमाझ नरहँदा मैले त्यतिबेला खिचेका तस्बिरहरू पुनः सम्झिरहेकी छु। क्यामेरामा कैद उनको मुहार अब एउटा महत्त्वपूर्ण दस्तावेज बनेको छ। उनिसँग गरिएको कुराकानी स्मृति बनेको छ भने उनले सुनाउनुभएका कथाहरू अब उनको अनुपस्थितिमा पनि बोलिरहने अमर गाथा बनेका छन्।
उनले आफ्नो सम्पूर्ण जीवन थिमिको संस्कृति बोकेर हिँडे। त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गरे। नाच, बाजा र जात्रा-पर्वलाई जीवित राख्दै आफूले आर्जन गरेको ज्ञान आफूसँगै लोप हुन दिएनन्। फिनल्यान्डसम्म पुगेर नेपाली परम्परागत कला प्रस्तुत गर्दै उनले थिमिको संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत पुर्याए।
आज उनको भौतिक शरीर हामीमाझ छैन, तर उनले जोगाएका संस्कृति जीवित छन्। धिमेको हरेक तालमा उनको सम्झना छ। जात्राको भीडमा उनको पदचाप छ। र नाचका चालहरूमा उनले सिकाएको ज्ञान छ। अनि हामीजस्ता पत्रकारका क्यामेराभित्र उनको एउटा सार्थक जीवन सुरक्षित छ।
कहिलेकाहीँ पत्रकारितामा खिचिएका तस्बिरहरू समयसँगै साधारण समाचारभन्दा ठूलो दस्तावेज बनिदिन्छन्। श्रीगोपाल बुवाका ती तस्बिरहरू पनि आज मेरा लागि त्यस्तै अमूल्य दस्तावेज बनेका छन्।
मैले उनको फोटो खिच्दा सायद सोचेकी थिइनँ,कुनै दिन तिनै फोटो हेरेर उनलाई यसरी सम्झनुपर्नेछ। तर समयले आज त्यही मोडमा ल्याएर उभ्याइदिएको छ।
त्यो भेट अब केवल एउटा भेट रहेन, त्यो रिपोर्ट केवल रिपोर्ट रहेन, अनि त्यो फोटो केवल फोटो रहेन। श्रीगोपाल बुवासँगको त्यो भेट मेरो पत्रकारिता यात्राको एउटा अविस्मरणीय र अमूल्य स्मृति बनेको छ।
मध्यपुर थिमिको संस्कृति र परम्परामा उनको योगदान सदैव स्मरणीय रहनेछ। मेरो क्यामेरामा कैद उनको त्यो मुस्कान, अनुहार र कथाहरूले उनको अनुपस्थितिमा पनि उपस्थिति महसुस गराइरहनेछन्।
श्रीगोपाल बुवा, तपाईंले जोगाउनुभएको संस्कृति सधैँ बाँचिरहोस्।
तपाईंले सिकाउनुभएका नाचका चालहरू पुस्तौँसम्म चलिरहून्।
र थिमिको संस्कृति धड्किने हरेक तालमा तपाईंको सम्झना अजम्बरी रहोस्।
भावपूर्ण श्रद्धाञ्जली!
कृष्पा श्रेष्ठ