भारतले घटायो खानेतेलको भन्सार, नेपाली उद्योगमा दबाब

भारतले घटायो खानेतेलको भन्सार, नेपाली उद्योगमा दबाब

नेपालका उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका छन्।

  • कुराकानी

  • बिहिबार, अशोज ८, २०८३

  • 1
    SHARES
भारतले घटायो खानेतेलको भन्सार, नेपाली उद्योगमा दबाब

कुराकानी। भारतले पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्क घटाएको छ। भारत सरकारको पछिल्लो निर्णयसँगै नेपाली खानेतेल उद्योगमा समेत यसको असर पर्ने देखिएको छ।

भारतले सेप्टेम्बर २४ देखि लागू हुने गरी कच्चा तथा प्रशोधित खानेतेलमा लाग्ने आधारभूत भन्सार शुल्क घटाएको हो। नयाँ व्यवस्थाअनुसार कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क हटाएर शून्यमा झारिएको छ। प्रशोधित सूर्यमुखी तेलको भन्सार शुल्क भने ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, कच्चा पाम र सोयाबिन तेलको भन्सार शुल्क १० प्रतिशतबाट घटाएर ५ प्रतिशत तथा प्रशोधित पाम र सोयाबिन तेलको शुल्क ३२.५ प्रतिशतबाट घटाएर २७.५ प्रतिशतमा झारिएको छ।

भारत सरकारले चाडपर्वको समयमा खानेतेलको मूल्य घटाउने तथा खाद्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भन्सार शुल्क घटाएको जनाएको छ।

भारतको यो निर्णयले नेपालबाट भारततर्फ प्रशोधित खानेतेल निर्यात गर्दै आएका नेपाली उद्योगमा भने प्रतिस्पर्धाको दबाब बढाउने उद्योगीहरूको चिन्ता छ। नेपालका उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएका छन्।

भारतले आफ्नै उद्योगका लागि कच्चा खानेतेल आयात गर्दा लाग्ने शुल्क घटाएपछि भारतीय उद्योगले तुलनात्मक रूपमा कम लागतमा कच्चा पदार्थ ल्याएर प्रशोधन गर्न सक्नेछन्। यसले नेपालमा प्रशोधन गरेर भारत निर्यात गरिने खानेतेलको प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुन सक्ने देखिएको छ।

नेपालका मोरङ–सुनसरी, पर्सा र रुपन्देहीलगायत औद्योगिक क्षेत्रमा रहेका खानेतेल उद्योगहरू भारतमा हुने निर्यातमा निर्भर छन्। भारततर्फको निर्यात घटेमा उत्पादन तथा रोजगारीमा समेत असर पर्न सक्ने उद्योगीहरूको भनाइ छ।

नेपालका लागि अर्को चुनौती भारतबाट सस्तो खानेतेल नेपाल भित्रिने जोखिम पनि हो। खुला सीमाका कारण भारतमा सस्तो भएको खानेतेल अवैध रूपमा नेपाल भित्रिएमा स्वदेशी उद्योगले थप प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्छ।

भारतको खानेतेल उद्योगले यसअघि नै नेपालबाट प्रशोधित खानेतेलको आयात तीव्र रूपमा बढेको भन्दै सरकारसँग नीतिगत पुनरावलोकनको माग गर्दै आएको थियो। भारतीय उद्योग संगठनका अनुसार नेपालबाट भारततर्फ खानेतेलको आयात सन् २०२३ मा ४७ हजार २९५ टन रहेकामा सन् २०२५ मा ८ लाख टनभन्दा बढी पुगेको थियो।

भारतको पछिल्लो भन्सार कटौतीपछि नेपाली खानेतेल उद्योगले भारतीय बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता कायम राख्न थप चुनौती सामना गर्नुपर्ने देखिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology