समाचार कक्षबाटै पत्रकार पक्राउ

समाचार कक्षबाटै पत्रकार पक्राउ

प्रहरीले नेपाल प्रेसका पत्रकार सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको हो।

  • कुराकानी

  • शुक्रबार, कार्तिक १४, २०८३

  • 1
    SHARES
समाचार कक्षबाटै पत्रकार पक्राउ

कुराकानी। प्रहरीले शुक्रबार एकै दिन तीन पत्रकारलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्यस्तै, पत्रकारको खोजी गर्दै नयाँ पत्रिका दैनिक र दियो पोस्ट अनलाइनको कार्यालयमा समेत प्रहरी पुगेको छ।

प्रहरीले नेपाल प्रेसका पत्रकार सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको हो। समाचार सम्पादनको काममा रहेका बेला सादा पोसाकमा पुगेका प्रहरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयबाट लगेको नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले बताएका छन्।

साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपक अवस्थीले सुवेदीसहित केही व्यक्तिसँग सोधपुछ गर्नुपर्ने भएकाले ब्युरो ल्याइएको बताएका छन्। प्रहरीका अनुसार सुवेदीलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित समाचारबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

केही दिनअघि नेपाल प्रेसले सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित गरेको थियो। उक्त समाचारको स्रोत र विषयवस्तुबारे अनुसन्धान गर्न सुवेदीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

त्यस्तै, प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पनि अनामनगरस्थित कार्यालयबाट नियन्त्रणमा लिएको छ। श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीका अनुसार सादा पोसाकमा पुगेका प्रहरीले केही कुरा गर्नुपर्ने भन्दै बराललाई कार्यालयबाट लगेका हुन्। उनलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। यद्यपि, उनलाई नियन्त्रणमा लिनुको कारण प्रहरीले स्पष्ट पारेको छैन।

शुक्रबार नै डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच, पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोसाकका प्रहरी टोली नयाँ पत्रिका दैनिकको पुतलीसडकस्थित कार्यालय पुगेको थियो। नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार चारदेखि पाँच जनाको प्रहरी टोलीले मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै खोजी गरेको थियो। मैनाली कार्यालयमा नभेटिएपछि प्रहरीले उनीबारे सोधपुछ गरेको थियो।

त्यस्तै, दियो पोस्ट अनलाइनको अनामनगरस्थित कार्यालयमा पनि प्रहरी पुगेको थियो। त्यहाँका पत्रकारका अनुसार प्रहरीले प्रधान सम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोजेको थियो। दियो पोस्टले यसअघि प्रधानन्यायाधीशसँग सम्बन्धित समाचार प्रकाशित गरेपछि आफूहरूलाई धम्की आएको विवरण सार्वजनिक गरेको थियो।

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी पुगेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिने कार्य प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै यस्तो गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघले पत्रकारलाई पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने कार्यले संविधान तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। संघले घटनाबारे आवश्यक छानबिन गरी पत्रकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाउनसमेत माग गरेको छ।

यसअघि कात्तिक १२ गते नेपाल प्रहरीले प्रहरी महानिरीक्षक कार्कीबारे प्रकाशित समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा प्रहरी संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने उल्लेख थियो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology