कुराकानी। सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको जिम्मेवारी परिवर्तन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरेको हो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नगरिएको र यो जिम्मेवारीको परिवर्तन मात्र भएको बताएका छन्।
सरकारले भनेको छ, वर्तमान विशेष परिस्थितिमा देशको शान्ति–सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सम्बन्धी सुझाव र परामर्श दिन आईजीपी तहकै विशेष सुरक्षा सल्लाहकारको व्यवस्था गरिएको हो।
यता, यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालिरहेका एआईजी मनोज केसीलाई प्रहरी नियमावलीअनुसार बढुवा गर्दै नयाँ आईजीपी नियुक्त गरिएको छ। उनी नेपाल प्रहरीका ३४औँ प्रहरी महानिरीक्षक बनेका छन्।
कार्कीलाई आईजीपी पदबाट सिधै बर्खास्त गर्दा कानुनी जटिलता आउन सक्ने भएकाले उनलाई जिम्मेवारीबाट मुक्त गरेर प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारको भूमिकामा राखिएको स्रोतहरूले बताएका छन्। पछिल्ला केही विवादास्पद घटनाक्रम र प्रहरी नेतृत्व तथा सरकारबीच बढेको तनावका बीच यो निर्णय आएको हो।