काठमाडौँ महानगरद्वारा कक्षा ४ र ५ का शिक्षकलाई मूल्याङ्कन तालिम

काठमाडौँ महानगरद्वारा कक्षा ४ र ५ का शिक्षकलाई मूल्याङ्कन तालिम

शिक्षा विभागका अनुसार आउँदो आइतबार थप १८० जना शिक्षकलाई सोही प्रकृतिको तालिम प्रदान गर्ने योजना रहेको छ।

  • कुराकानी

  • मङ्लबार, असार ९, २०८३

  • 1
    SHARES
काठमाडौँ महानगरद्वारा कक्षा ४ र ५ का शिक्षकलाई मूल्याङ्कन तालिम

काठमाडौँ। ९ असार काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा ४ र ५ मा अध्यापन गराउने १८० जना शिक्षकहरूलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजनाको ८९ औँ बुँदामा उल्लेखित व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यले महानगरको शिक्षा विभागले यो तालिम सञ्चालन गरेको हो।

पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले यस कार्यक्रमले शिक्षकहरूमा मूल्याङ्कन प्रणालीका विषयमा स्पष्टता कायम गर्नुका साथै आत्मविश्वास जगाएको बताउनुभयो। शिक्षा विभागका अनुसार आउँदो आइतबार थप १८० जना शिक्षकलाई सोही प्रकृतिको तालिम प्रदान गर्ने योजना रहेको छ।

तालिम सहजकर्ता सीता पाण्डेका अनुसार स्रोत शिक्षकहरूलाई स्रोत व्यक्तिका रूपमा परिचालन गरी तालिम सञ्चालन गरिएको थियो। दुई दिने उक्त कार्यक्रममा शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना, विषयगत पाठ्यक्रमका विशेषता, नवीनतम शिक्षण विधिको प्रयोग, विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका, सिकाइ उपलब्धि मूल्याङ्कन अभिलेख फारामको प्रयोग, र जीपीए गणना तथा प्रगति प्रतिवेदनको नमूना तयारी लगायतका प्राविधिक विषयहरू समावेश गरिएका थिए।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिसम्म विभिन्न विधामा गरी कुल १ हजार ६४६ जना शिक्षकहरूलाई क्षमता विकास तालिम प्रदान गरिसकेको छ। जसअन्तर्गत बाल विकास सहजकर्ता (इसीडी) तर्फ १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शमा १३४ जना, नेपाल भाषा प्रशिक्षणतर्फ सामुदायिक विद्यालयका १६४ र संस्थागत विद्यालयका ११६ जना शिक्षक प्रशिक्षित भएका छन्।

यसैगरी, सूचना तथा प्रविधि (आईसिटी) सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा प्रश्नपत्र निर्माणमा ४६० जना, र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका छन्। विभागले चालु असार महिनाभित्रै विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी विधामा थप १८० जना शिक्षकलाई तालिम दिने लक्ष्य राखेको छ।

शिक्षकहरूको क्षमता विकास गरी कक्षाकोठाको सिकाइ र आचरणमा सुधार ल्याउने तथा सामुदायिक शिक्षाको समग्र नतिजा सुदृढ गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology