कुराकानी। अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा पर्ने नाम्सी खोला पुलमाथि आइतबार बिहान लेदोसहितको पहिरो खसेपछि बिहान ७:५५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरो पन्छाउन सडक डिभिजनले आवश्यक उपकरण परिचालन गरेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ। यद्यपि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन थप समय लाग्न सक्ने जनाइएको छ।
यसअघि पनि लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा ढुंगा–माटो खस्ने क्रम जारी रहेको थियो। जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
सडक सञ्चालनमा नआएसम्म उक्त सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधन प्रभावित हुनेछन्।