कुराकानी। एउटा फिल्म जसले रिलिज भएको १८ वर्ष बितिसक्दा पनि आफ्नो चमक गुमाएको छैन। एउटा यस्तो कृति, जसलाई धेरैले नेपाली सिनेमाको टर्निङ पोइन्टका रूपमा लिन्छन्। अनि एउटा फिल्म, जुन हेरेपछि नेपाली सिनेमा प्रतिको दृष्टिकोण नै बदलिन सक्छ। आजको हेर्ने हैन त मा हामी कुरा गर्दैछौं — कागबेनी को।
किन यति धेरै वर्ष बितिसक्दा पनि कागबेनी पुरानो लाग्दैन? किन आज पनि धेरै फिल्मकर्मीहरूले यसलाई नेपाली सिनेमाको माइलस्टोन मान्छन्? र सबैभन्दा ठूलो प्रश्न— तपाईंले यो फिल्म किन छुटाउनु हुँदैन?
सन् २००८ मा रिलिज भएको कागबेनी निर्देशक भुषण दाहाल को पहिलो फिचर फिल्म हो। भिडियो बनाउने माध्यमबाट चिनिएका भुषण दाहाल यही फिल्मबाट परिपक्व फिल्ममेकरका रूपमा स्थापित भए। यही कारणले धेरैले कागबेनीलाई नेपाली सिनेमामा नयाँ युगको सुरुवातको रूपमा लिन्छन्।
कागबेनी केवल कथा भन्ने फिल्म होइन, यसले नेपाली सिनेमाको निर्माण शैली नै बदलिदियो। नेपालमा डिजिटल क्यामेराबाट खिचिएको पहिलो फिल्म, कास्टिङ डिरेक्टर राखिएको पहिलो नेपाली फिल्म, अडिसनमार्फत कलाकार छनोट गरिएको पहिलो फिल्म, र मुस्ताङमा छायांकन गरिएको पहिलो नेपाली फिचर फिल्मको रूपमा यसले इतिहास बनायो। यसले दर्शकलाई पहिलो पटक नेपाली फिल्म पनि यति सिनेमाटिक, यति परिपक्व र यति सुन्दर हुन सक्छ भन्ने अनुभूति गराएको थियो।
पुष्पा थपलिया