कुराकानी। फिफा विश्वकप २०२६ को अन्तिम–१६ अन्तर्गत अटलान्टामा खेलिएको खेल फुटबल इतिहासकै एउटा यस्तो अध्याय बनेको छ, जसलाई वर्षौंसम्म सम्झिइनेछ। साविक विजेता अर्जेन्टिना र अफ्रिकी पावरहाउस इजिप्टबीचको यो भिडन्त केवल एउटा फुटबल म्याच मात्र रहेन, यो धैर्य, दबाब र अविश्वसनीय पुनरागमनको एउटा एतिहासिक नाटकीय शृङ्खला बन्यो। अन्ततः दुई गोलले पछि परेको संकटपूर्ण अवस्थालाई उल्ट्याउँदै अर्जेन्टिनाले इजिप्टमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेर क्वार्टरफाइनलको टिकट काटेको छ।
खेलको सुरुआत साविक विजेता अर्जेन्टिनाका लागि कुनै दुःस्वप्न भन्दा कम थिएन। इजिप्टले खेलको पहिलो मिनेटदेखि नै आक्रामक रणनीति अपनाउँदै अर्जेन्टिनी रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्यो। नतिजास्वरूप, खेलको १५औँ मिनेटमै यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाए। रङ्गशालामा उपस्थित इजिप्टका समर्थकहरू खुसीले झुमिरहँदा अर्जेन्टिनी क्याम्पमा भने तनाव स्पष्ट देखिन्थ्यो।
पहिलो हाफमै खेललाई बराबरीमा ल्याउने सुनौलो अवसर अर्जेन्टिनाले पायो, जब टोलीले पेनाल्टीको अवसर प्राप्त गर्यो। विश्व फुटबलका जादुगर तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी पेनाल्टी प्रहार गर्न अघि सरे। सबैले सोचेका थिए– अब खेल बराबरी हुनेछ। तर, इजिप्टका गोलरक्षक मोस्तफा शोबेइर बाधक बनिदिए। उनले मेस्सीको पेनाल्टी प्रहारलाई उत्कृष्ट ढङ्गले बचाइदिँदै पहिलो हाफमा इजिप्टको अग्रता कायमै राखे।
दोस्रो हाफमा अर्जेन्टिनाले पुनरागमन गर्ने अपेक्षा गरिएको भए पनि खेलको ६७औँ मिनेटमा मोहम्मद सालाह र हसनको सन्तुलित काउन्टर अट्याकमा मोस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० को बलियो स्थितिमा पुग्यो। खेल हेरिरहेका धेरैका लागि साविक विजेताको यात्रा अन्तिम–१६ मै टुङ्गिने लगभग निश्चित जस्तै भइसकेको थियो। समय घर्कदै गइरहेको थियो र अर्जेन्टिनासँग केवल निराशा बाँकी थियो।
तर, फुटबलको सुन्दरता नै यही हो– यहाँ खेल नसकिँदासम्म केही पनि निश्चित हुँदैन। खेलको ७९औँ मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै डिफेन्डर क्रिस्टियन रोमेरोले उत्कृष्ट हेडरमार्फत गोल गरेर अर्जेन्टिनालाई खेलमा फर्काए। यो गोलले अर्जेन्टिनी खेलाडीहरूमा एउटा नयाँ उर्जा भर्यो।
रोमेरोको गोलको ठीक चार मिनेटपछि अर्थात् ८३औँ मिनेटमा रंगशाला पुनः गुञ्जायमान भयो। लाउटारो मार्टिनेज र अल्भारेजको उत्कृष्ट तालमेलमा सिर्जना भएको अवसरलाई कप्तान लियोनेल मेस्सीले गल्ती नगरी बललाई जालीको दिशा दिए। यस गोलसँगै मेस्सीले आफ्नो पेनाल्टी मिसको निराशा मात्र मेटेनन्, खेललाई २–२ को रोमाञ्चक बराबरीमा समेत पुर्याए। खेलको अन्तिम १५ मिनेट पूर्ण रूपमा अर्जेन्टिनाको कब्जामा रह्यो।
खेल बराबरीमा सकिएर अतिरिक्त समयतर्फ धकेलिने अनुमान गरिरहँदा इन्जुरी समयको तेस्रो मिनेट (९०+३) मा अर्को चमत्कार भयो। अर्जेन्टिनाले पाएको एउटा सटिक क्रसलाई एन्जो फर्नान्डेजले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरे। गोल हुनासाथ पूरा अर्जेन्टिनी टोली र समर्थकहरू खुसीले पागल जस्तै भए। खेलको अन्तिम सिट्ठी बज्दा कप्तान मेस्सीका आँखामा खुसीका आँसु प्रस्ट देखिन्थे।
उता, जितको मुखैमा पुगेर पराजय भोगेको इजिप्टका खेलाडीहरू मैदानमै भक्कानिए। तेस्रो गोलको निर्माण प्रक्रियामा एलेक्सिस म्याक एलिस्टरले फथीलाई फल गरेको भन्दै इजिप्टका खेलाडीहरूले विरोध गरे पनि रेफ्रीको निर्णय बदलिएन।
यो जितसँगै अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको बलियो अभियानलाई जारी राखेको छ। अब क्वार्टरफाइनलमा अर्जेन्टिनाको सामना स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग हुनेछ। तर, इजिप्टविरुद्धको यो खेल विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक र अविश्वसनीय पुनरागमनमध्ये एकको रूपमा सधैँ खेलप्रेमीहरूको मानसपटलमा जीवित रहनेछ।