काठमाडौं महानगरपालिका वडा–१८ ले आफ्ना पूर्वप्रमुख प्रेमलाल सिंह (पीएल सिंह) को योगदानलाई स्मरण गर्दै तपिंताँ पार्कमा उनको प्रतिमा स्थापना गरेको छ।
शनिबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रतिमाको अनावरण गर्दै इतिहासलाई पुस्तादेखि पुस्तासम्म पुर्याउने यस्ता प्रयास अनुकरणीय रहेको बताइन्। उनले पीएल सिंहले नागरिक र स्थानीय सरकारबीच विश्वासको सम्बन्ध निर्माण गरेको भन्दै आज पनि उनका सोच र योजनाले महानगरलाई मार्गदर्शन गरिरहेको उल्लेख गरिन्।
करिब ९ लाख ३८ हजार रुपैयाँ लागतमा मूर्तिकार श्याम तुलाधरले निर्माण गरेको प्रतिमाको अनावरण कार्यक्रममा जनप्रतिनिधि, परिवारका सदस्य र स्थानीयबासी सहभागी थिए।
वडा–१८ ले यसअघि पनि विभिन्न क्षेत्रमा योगदान दिएका मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर, शंखधर साख्वा, नारायण गोपाल, चित्तधर हृदय र चन्द्रानन्द नेवाका प्रतिमा स्थापना गरिसकेको छ। वडाको भनाइमा, समाज र राष्ट्रका लागि योगदान दिएका व्यक्तित्वलाई नयाँ पुस्तासँग परिचित गराउने उद्देश्यले यो अभियान अघि बढाइएको हो।
२०४९ सालमा काठमाडौं नगरपालिकाको प्रमुख बनेका पीएल सिंहले स्थानीय स्वायत्तता र काठमाडौंलाई महानगरका रूपमा विकास गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए। २०८१ पुस १ गते उनको निधन भएको थियो।