कुराकानी। बाढीले घरसहित बगाएर बेपत्ता भएकी नुवाकोटकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। बाढीले बगाएको घरको भग्नावशेषबाट शनिबार उनको जीवितै उद्धार गरिएको हो।
नुवाकोटको विदुर नगरपालिका १०, बेत्रावती क्षेत्रमा बाढीले चण्डिकाको घर बगाएर लगेको थियो। बाढीपछि उनीसँगै उनका श्रीमान् पनि बेपत्ता भएका थिए। ११ दिनसम्म चण्डिकाको अवस्था अज्ञात रहेपछि परिवार र स्थानीयले उनको खोजी गरिरहेका थिए।
स्थानीयका अनुसार चण्डिकाको घर उनको छिमेकी नारायणलाल डंगोलको घरभन्दा करिब ७० मिटर पछाडि थियो। बाढीको तीव्र बहावले घरलाई बगाएर डंगोलको घर रहेको स्थानभन्दा करिब ५० मिटर पर पुर्याएको थियो। त्यही बाढीले बगाएको घरको संरचनाभित्र चण्डिका फसेको अवस्थामा भेटिएकी हुन्।
स्थानीयहरू बगरमा आवतजावत गरिरहेका बेला घरतर्फबाट मानिसको आवाज सुनिएको थियो। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी गर्दा बाढीले बगाएको घरभित्र चण्डिका जीवित अवस्थामा फेला परेकी थिइन्।
स्थानीय जनप्रतिनिधि मंगल तामाङका अनुसार बगरमा मानिसको आवतजावत र बाटो खन्ने काम भइरहेका बेला मानिसको आवाज सुनिएपछि प्रहरीलाई उद्धारका लागि खबर गरिएको थियो। त्यसपछि प्रहरीले खोजी तथा उद्धारको काम अघि बढाएको थियो।
उद्धारपछि चण्डिकालाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइएको छ। उनका देवरले चण्डिकासँग कुराकानी भएको र उपचारका लागि छाउनी ल्याइएको जानकारी दिएका छन्।
तर चण्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन छन्। उनको अवस्था अझै अज्ञात रहेकाले परिवारमा चिन्ता कायमै छ।
बाढी आएको ११ दिनपछि बाढीले बगाएको घरको संरचनाबाट चण्डिका जीवितै भेटिएपछि बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा नयाँ आशा थपिएको छ। यसअघि बाढीका कारण सुरुङ तथा घरका संरचनाभित्र मानिसहरू फसेको हुनसक्ने अनुमान गरिए पनि खोजीका क्रममा चण्डिका जीवित भेटिनुले अन्य सम्भावित स्थानमा पनि खोजी तीव्र बनाउनुपर्ने देखिएको छ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा गढीदेखि नुवाकोट हुँदै धादिङको गलौंदी क्षेत्रसम्म ठूलो क्षति पुगेको छ। बाढीले कतिपय घर पुरिएका छन् भने कतिपय घर तथा संरचना बगाएर क्षतिग्रस्त बनाएको छ। प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार कार्य जारी छ।
बाढीका कारण सुरुङमा फसेका मानिसहरूको समेत उद्धार भइरहेको छ। शनिबार नै अपर त्रिशूली–१ बाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको थियो भने त्यसको अघिल्लो दिन त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।