फिल्म समीक्षा

ताली, कुहिरो र हात्तीभित्र लुकेको ‘तिनीहरू’का कथा

ताली, कुहिरो र हात्तीभित्र लुकेको ‘तिनीहरू’का कथा

‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ यस्ता हात्तीहरूको कथा हो, जो यही समाजका हिस्सा हुन् तर कुहिरोभित्र हराएका छन्।

  • पुष्पा थपलिया

  • मङ्लबार, भदौ २३, २०८३

  • 8
    SHARES
ताली, कुहिरो र हात्तीभित्र लुकेको ‘तिनीहरू’का कथा

कुराकानी । फिल्म ‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ नेपालको तराई क्षेत्रतिर, जंगल नजिकै घर भाडामा लिएर बसेको किन्नर समुदायको कथा हो। जहाँ हरेक वर्ण, जात र वर्गबाट प्रतिनिधित्व गर्ने लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायअन्तर्गत पर्ने किन्नर पात्रहरू छन्।

फिल्मले धेरै ठाउँमा कवितात्मक शैलीमा कथा भन्छ। केही ठाउँमा हँसाउँछ, केही ठाउँमा रुवाउँछ। केही दृश्यहरूले शरीरमा काँडा उमार्छन् अनि पूरै फिल्मले सोच्न बाध्य बनाउँछ।

दक्षिण एसियाली सामाजिक सन्दर्भमा ‘किन्नर’ शब्दले प्रायः तेस्रो लिङ्गी समुदायका महिलाहरू, जो छुट्टै सामाजिक र सांस्कृतिक पहिचानसँग जोडिएका छन्, उनीहरूलाई जनाउँछ। यो शब्द विशेषगरी भारतमा बढी प्रचलित छ।

नेपालमा भने ‘तेस्रो लिङ्गी’, ‘पारालिङ्गी’ वा ‘ट्रान्सजेन्डर’ जस्ता शब्दहरू प्रयोग हुन्छन्। तर सबै ट्रान्सजेन्डर महिला किन्नर हुँदैनन्। किन्नर बन्नका लागि उनीहरूको छुट्टै संस्कार र संस्कृति छ। उक्त संस्कारमा नभएका मानिस ट्रान्सजेन्डर महिला भए पनि किन्नर हुँदैनन्।

नेपालको तराई क्षेत्रमा भारतीय सामाजिक तथा सांस्कृतिक प्रभावका कारण किन्नर समुदाय देख्न सक्छौँ। तर पहाडी र हिमाली भेगतिर भने यसको प्रभाव खासै देखिँदैन।

यस समुदायसँग जोडिएको एउटा पुरानो मान्यता हो, उनीहरूको ताली। उनीहरूले बजाउने ताली अरूको भन्दा फरक हुन्छ। र यही तालीमा उनीहरूको शक्ति लुकेको हुन्छ भन्ने सामाजिक विश्वास छ। भनिन्छ, उनीहरूको तालीमा आशीर्वाद पनि हुन्छ, श्राप पनि। फिल्मले यही विश्वासलाई निकै गज्जब तरिकाले पर्दामा उतारेको छ।

यहाँ ताली केवल ताली होइन। यो उनीहरूको पहिचान हो, शक्ति हो अनि समाजसँगको एउटा संवाद पनि हो।
यी कुरा बुझेपछि मात्रै फिल्मले देखाउन खोजेको वास्तविक कथासँग हामी साक्षात्कार गर्न सक्छौँ।

अब लागौँ फिल्मको कथावस्तु कस्तो छ भन्नेतर्फ।

एउटा घर छ, जहाँ पिरती र उनका छोरीहरू बस्छन्। अरूभन्दा अप्सरा छोरीलाई पिरती अलिकति बढी माया गर्छिन्।

अप्सरा पनि पिरती आमालाई उस्तै माया गर्छिन्। पिरतीको अगाडि त्यसै-त्यसै अप्सरालाई बच्चा बन्न मन लाग्छ। त्यसैले उनी कहिले के, कहिले के गरेर पिरतीलाई सताइरहन्छिन्। उनलाई आमाले ‘यसो नगर्, त्यसो नगर्, तेरो खुट्टा भाँचिदिन्छु’ भनेर गाली गरेको सुन्न मनपर्छ।

उनी पिरतीको माया पाउनकै लागि काठमाडौं आएर मोडलिङ गर्ने सपनालाई दबाएर किन्नर बनेकी पात्र हुन्।

यसको मतलब, पिरती र अप्सराको सम्बन्ध फिल्मले गज्जबसँग स्थापित गरेको छ।

पिरतीको अप्सराप्रतिको प्रेम देखेर जुन, चमेली, माया लगायतका अन्य छोरीहरूलाई रिस उठ्छ। उनीहरूको नाम याद गर्नुभयो? सबै नामहरू कति सुन्दर छन्, कोमल छन्, सरल छन् अनि मायालु पनि।

खैर, उनीहरूबीचको नोकझोक पनि फिल्मले रमाइलो पारामा देखाएको छ। यस्ता झगडा र मनमुटावले फिल्मलाई फिल्मीभन्दा वास्तविक बढी लाग्न मद्दत गरेको छ।

द्वन्द्व सुरु हुन्छ जब बहुचरा मातालाई साक्षी राखी ब्रह्मचर्यको पालना गर्ने कसम खाएर किन्नर बनेकी पिरती ड्रम मास्टरसँग प्रेममा पर्छिन्। कसमअनुसारको कर्म गर्न सक्दिनन्। त्यसैले उनको प्रेमसमेत कुहिरोभित्र अलमलिएको छ।

कथा अगाडि बढ्दै जाँदा एउटा घटना घट्छ र सबैको ध्यान जंगलतिर मोडिन्छ। कुहिरोमा हराइरहेका हात्तीका बथानले फिल्मको क्लाइमेक्सलाई उलटपुलट पारिदिन्छन् र हामी उभिएर ताली बजाउन बाध्य हुन्छौँ, फिल्मका पात्रहरूसँगसँगै।

कथा सबै खोलिसकेपछि ‘फिल्म किन हेर्ने?’ भन्ने सोचिरहनुभएको छ भने यसको उत्तर थाहा पाउन पनि फिल्म नै हेर्नुहोला।

‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ नहेरीकनै नेपाली फिल्म राम्रो बन्दैन भन्ने सोच्नुहुन्छ भने भोलिको पुस्ता पनि तपाईँ-हामीजस्तै साउथ इन्डियन फिल्मको प्रभावमा बनेका दिमाग खराब गर्ने फिल्म हेरेर दिन काट्न बाध्य हुनेछन्। त्यसैले हाम्रो सफ्ट पावरलाई बढाउन यो फिल्म अवश्य हेर्नुहोला।

फिल्मलाई फिल्म बन्न नदिएर हाम्रो आफ्नै वरपरको कथा बनाउन भूमिका खेल्ने पात्र र उनीहरूको अभिनयका बारेमा पनि थोरै चर्चा गरौँ।

फिल्ममा पिरती पात्रको भूमिका निर्वाह गरेकी छन् पुष्पा थिङ लामाले। उनको मौलिक बोल्ने शैली, हाउभाउ र अनुहारको भावभङ्गीले दर्शकलाई फिल्म हेरिरहेका छौँ भन्ने नै भुलाइदिन्छ। हामी पनि पुष्पासँगै हात्तीको गस्ती जान छोरीहरूको ड्युटी फिक्स गरिरहेका हुन्छौँ।

उनको छल्किएको ममताले आफ्ना आमाहरू सम्झाइदिन्छ। एकातिर प्रेम, अर्कोतिर समाज अनि हुर्किएका छोरीहरूको जिम्मेवारी। पिरतीलाई हेर्दा उनी कतिसम्म थिचिएकी छन् भन्ने पुष्पाको अभिनयबाट मज्जाले महसुस गर्न सकिन्छ।

त्यस्तै, एलिज घिमिरे उर्फ अप्सरा। आमाको ममताका लागि आफ्ना सपना तिलाञ्जली दिएकी अप्सराको भूमिका एलिजले मन छुने तरिकाले देखाएकी छन्। हाम्रा आँखाले एलिजलाई अन्तिमसम्म खोजिरहन्छन्। अप्सरालाई भेट्टाउने र फेरि देख्ने आशाले नै फिल्मको कथा अन्तिमसम्म तानिने हो।

कम स्क्रिन टाइममा पनि गहिरो छाप छाड्नैपर्ने बाध्यतालाई एलिजले गज्जबसँग न्याय गरेकी छन्।

फिल्ममा सहवदिन मिया, जस्मिन विश्वकर्मा, जोयल गुरुङ, उमिशा पाण्डे, आकांक्षा कार्की, महिमा नाउवाग, सञ्जय गुप्ता दुरा, आशान्त शर्मा, अनिल कुर्मी, माओत्से गुरुङ, गौरी मल्ल लगायतले अभिनय गरेका छन्।

फिल्मको प्राविधिक पक्षबारे सोच्नुअघि एकछिन फिल्मको नामतिर ध्यान दिऔँ है त।

फिल्मको शीर्षक नै झस्काउने खालको छ, ‘तिनीहरू!’

जसलाई समाजले व्यवहार नै ‘तिनीहरू’ जस्तो गरेको छ।

तिनीहरू अर्थात् समाजको मूलधारभन्दा पर धकेलिएकाहरू। तिनीहरू अर्थात् ‘हामीजस्ता होइनन्’ भनेर छुट्याइएकाहरू। तिनीहरू

अर्थात् हामीभन्दा फरक ठानिएकाहरू।

तर प्रश्न यहाँनेर आउँछ, ‘तिनीहरू’ को हुन्? र अझ महत्त्वपूर्ण प्रश्न, ‘हामी’ को हौँ, जसले यिनी र तिनी भनेर फरक छुट्याइरहेका छौँ?
फिल्मले यही सीमारेखा मेटाउन खोज्छ। किनकि ‘तिनीहरू’ र ‘हामी’बीचको दूरी प्राकृतिक होइन, सामाजिक हो।

सायद यही दूरी मेटाउने क्रममा फिल्मका पात्रहरूले बजाएको तालीलाई कान्समा सात मिनेटको स्ट्यान्डिङ ओभेसन मिलेको हो।
फिल्ममा धेरै दृश्यको अन्त्य खुला छाडिदिएको छ। अर्थात् फिल्म हेरेपछि तपाईंले नै थाहा पाउनुपर्ने हुन्छ, त्यहाँ के भयो? किन भयो? कसरी भयो?

अनि तपाईंले जे सोच्नुभयो, त्यो गलत हैन। सत्य त्यही हो। किनभने सत्य जहिले पनि तपाईंको दृष्टिकोणमा हुन्छ। संस्कार, संस्कृति अनि समाजले तयार पारिदिएको मानसिकतामा हुन्छ।

यदि तपाईं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई ‘तिनीहरू’को नजरबाट हेर्नुहुन्छ भने यो फिल्मले केही महसुस गराउँदैन। फिल्मका पात्रहरूसँग कनेक्सन नै बन्दैन। तपाईंलाई अल्छी लाग्न सक्छ, स्लो लाग्न सक्छ।

तर ‘तिनीहरू होइनन्, उनीहरू हुन्, जो यही समाजको हिस्सा हुन्’ भन्ने सोच राख्नुहुन्छ भने यहाँ देखाइएको कथा तपाईँकै हो। मेरै हो।
पिरती अप्सराको शव पहिचानका लागि जब उनको घर जान्छिन्, त्यहाँ एउटा अनपेक्षित घटना घट्छ। अप्सरा जस्तै देखिने व्यक्ति फरक अवतारमा देखिन्छन्। उसले आफूलाई अप्सरा नभएको दाबी गर्छ।

पिरती आफ्नो बाटो लाग्ने समयमा भने ऊ झ्यालबाट हेरिरहन्छ। अनि यो दृश्य सकिन्छ।

आखिर को हो त्यो अप्सरा जस्तै देखिने मानिस? किन पिरतीलाई देख्नेबित्तिकै उसको अनुहार फरक भयो? कतै अप्सरा मनमा रहेको त्यो अजङ्गको हात्तीसँग डराएर फेरि विशाल बनेको त होइन?

यसमा तपाईंलाई जे सही लाग्छ, उत्तर त्यही हो।

अनि जब पिरती त्यहाँबाट घर फर्कन्छिन्, उनीहरू बस्ने घर जलिरहेको हुन्छ।

अब आगो कसले लगायो त? अनि घरमा भएको एमजे? ऊ पनि सँगै जल्यो कि क्या हो? कि उसैले पो घर जलाएको हो कि?
अनि एमजे किन भाग्छ त पिरतीले अप्सराबारे सोध्दा? अप्सरा गायब गर्न एमजेको पो हात छ कि? अथवा अप्सरा कता छिन्, उसले थाहा पाएको पो थियो कि?

यी सबैको उत्तर तपाईंलाई जे सही लाग्छ, त्यही हो।

यसरी हेर्दा फिल्मको पटकथा लेखन सरल छ, सरस छ र रहस्यमयी पनि छ। कथालाई पर्दामा देखाउन फिल्म सफल छ। यसका लागि निर्देशक तथा पटकथाकार अविनाशविक्रम शाहलाई बधाई छ।

अब कुरा गरौँ फिल्मको अर्को मुख्य पात्र, हात्तीहरूको बारेमा।

उनीहरू फिल्मको अन्तिममा मात्रै देखापर्छन्। प्रिजेन्स फिल्मको सुरुवातदेखि नै भए पनि उनीहरू कुहिरोमा हराएका थिए।

समाजमा हात्ती विध्वंसकारी हुन्छ, मान्छेको घर बिगार्छ, खानेकुरा विनाश गरिदिन्छ भन्ने डर गढेर बसेको हुन्छ। त्यसैले गाउँ छिर्ला कि भनेर तारबार लगाइएको हुन्छ। चम्किला लुगा लगाएका बुख्याचाहरू खडा गराइएका हुन्छन्। रातभर गस्ती गर्न आलोपालो बन्दुक बोकेका मानिसहरू जाग्राम बस्छन्।

तर जब कुहिरो हट्छ अनि बल्ल हात्तीहरू देखापर्छन्। उनीहरू समाजले भनेजस्ता क्रूर थिएनन्। उनीहरू मायालु थिए। बस्, स्वतन्त्र रूपमा बाँच्न चाहन्थे।

उनीहरूको घर अर्थात् जंगल मासिएर बनेका बस्तीहरूमा आफ्नो अस्तित्व खोजिरहेका थिए। मान्छे भन्नेहरू जंगललाई पूजा गर्थे, तर त्यही जंगलमा बस्ने हात्तीलाई भने लखेट्थे।

मानिसको डबल स्ट्यान्डर्ड स्वभावलाई पनि फिल्मले दुख्ने गरी थप्पड हानेको छ।

हात्तीलाई पहिलोपटक स्क्रिनमा देखाउँदा मृत देखाइएको थियो। अर्थात् समाजले हात्तीलाई ‘तिनीहरू’ मात्रै सोचेन, मारी नै दियो।
फिल्मले स्वतन्त्रता खोज्दाखोज्दै मरेका हात्तीहरूमा हाम्रा यौनिक तथा लैंगिक अल्पसंख्यक साथीहरूको प्रतिविम्ब देखाउन खोजेको छ।

त्यसैले त, फिल्ममा हात्ती केवल हात्ती होइन। यो मेटाफोर हो।

यहाँ पिरती, अप्सरा, जुन, चमेली, माया लगायत जतिपनि किन्नर पात्रहरू छन्, सबैलाई हात्तीका रूपमा देखाइएको छ।

नेपालको जमिनमा पाइने सबैभन्दा ठूलो जनावर, जसलाई समाजले टाढैबाट समेत देख्न सक्छ तर स्वीकार्न सकिरहेको छैन।

अनि अर्कोतर्फ, हामी सबैले आफ्नो मनभित्र एउटा अजङ्गको हात्ती बोकेर हिँडिरहेका छौँ। अनि त्यो अजङ्गको मनको हात्तीले हाम्रो सात्तो उडाइरहेको छ।

फिल्मले भरपूर मात्रामा बिम्बहरूको प्रयोग गरेको छ।

एउटा दृश्य छ, जसमा अप्सरालाई पिरतीले फूलबाट रङ निकाल्ने तरिका सिकाइरहेकी हुन्छिन्। मनतातो पानीमा सुकेका फूलहरू राख्दा त्यहाँबाट निलो रङ सबैतिर फैलन्छ। यस रङलाई पिरतीको ममतासँग दाँज्न सकिन्छ।

किनभने जब अप्सरा हराउँछिन्, मनतातो पानीमा सुकेका फूलहरूले रङ निकाल्न छाड्छन्।

यी र यस्ता बिम्बहरू फिल्मले प्रशस्त मात्रामा प्रयोग गरेको छ।

जंगल, रुखहरूमा कोरिएका हात्तीका आँखाहरू, क्यामरा हल्लिएका सटहरू, जंगलमा अप्सरा खोज्न निस्कँदा देखाइएका दृश्यहरू, बुख्याचाहरू, कुहिरोहरू, हात्तीका आवाजहरू, यी सबैले बिम्बको माध्यमबाट कथा भन्छन्।

गुरुआमाको दबिएको आवाजले घाँटी थिचिएर बोल्न सकस परेका पात्रहरूको प्रतिनिधित्व गर्छ।

फिल्मले एउटा निकै महत्त्वपूर्ण कुरा सिकाएको छ, जुन कुरामा अधिकांश नेपाली फिल्म चुकिरहेका हुन्छन्।

त्यो हो, अल्पसंख्यकको कथा भन्दा उनीहरूको दुःख मात्रै देखाएर दर्शकको सहानुभूति बटुल्नु हुँदैन।

उनीहरूको गरिबी, अभाव, हिंसा वा दुःखलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरेर दर्शकलाई दया गर्न बाध्य पार्नु नै ‘poverty porn’ को एउटा रूप हो।

तर यस फिल्मले किन्नर समुदायको संस्कृतिदेखि यसभित्रका भावनात्मक सम्बन्धसम्मका विषयलाई देखाउने प्रयास गरेको छ।

किन्नर समुदाय आफैँभित्र झगडा गर्छन् तर घरमा आगो लाग्दा सबै एकसाथ हुन्छन् भन्नेसम्मका कुरालाई सकारात्मक रूपमा प्रस्तुत गरिएको छ। क्लाइमेक्समा उनीहरूले समाजको बन्धन तोडेको देखाइएको छ।

आर्ट फिल्मको मज्जा नै यस्तैमा हुन्छ। किनभने त्यहाँ देखाइएका दृश्यहरू सबै दर्शकले आफ्नो दृष्टिकोणबाट व्याख्या गर्न सक्छन्।

यो फिल्ममा भएका कमजोरी र बलिया पक्ष सबैलाई हामी हरेक ‘पोइन्ट अफ भ्यू’बाट भिन्न-भिन्न तरिकाले हेर्न सक्छौँ।

तपाईंको दृष्टिकोणले फिल्म कस्तो देख्यो, हामीलाई कमेन्टमा लेख्न नभुल्नुहोला।

समग्रमा भन्दा, ‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ यस्ता हात्तीहरूको कथा हो, जो यही समाजका हिस्सा हुन् तर कुहिरोभित्र हराएका छन्। कतिपय अवस्थामा समाजको डरले उनीहरू लुकेका छन् त कहिले समाजले नै तारबार लगाएर उनीहरूको अस्तित्वलाई धपाइरहेको छ।

भिडियोमा समीक्षा हेर्नुस्:


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology