कुराकानी। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आफूहरूले गर्न लागेको १५औँ महाधिवेशनको कार्यतालिकाबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ।
देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिएका छन्। पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका उल्लेख गरिएको छ।
आयोगका प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको पत्रको विषय ‘जानकारी तथा अभिलेखीकरण सम्बन्धमा’ राखिएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि तथा पार्टी विधानमा रहेको व्यवस्थाअनुसार १५औँ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी आयोगलाई गराइएको देउवा समूहको भनाइ छ।
देउवा समूहले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरवलोकनका लागि अनुमति पाएको विषय पनि आयोगलाई जानकारी गराएको जनाएको छ। यसअघि विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह अदालत पुगेको थियो। सर्वोच्चले पुनरवलोकनका लागि अनुमति दिए पनि यसअघिको फैसला र आयोगको निर्णय तत्काल बदर भएको अवस्था भने छैन।
देउवा समूहले आफ्नो कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने जनाएको छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।
देउवा समूहले यसअघि नै महाधिवेशनको तयारीका लागि विभिन्न जिल्लामा संयोजक तथा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।
कांग्रेसभित्र भने १५औँ महाधिवेशनलाई लिएर दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढिरहेका छन्। यही कारण देउवा समूहले अघि सारेको महाधिवेशनलाई समानान्तर महाधिवेशनका रूपमा हेरिएको छ