कुराकानी। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परी बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार बुधबार गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव फेला परेको हो।
तीनै जना ‘हिमालय होलिडे’ नामक ट्राभल कम्पनीसँग आबद्ध रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
यसअघि चार जनाको शव फेला परिसकेको थियो। बुधबार थप तीन जनाको शव भेटिएसँगै हिमलुङ हिमालको घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। अझै ९ जना बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।
बेपत्ता रहेकामध्ये ‘हिमालयन होलिडेज’का ७ जना र ‘इम्याजिन नेपाल’का २ जना रहेको प्रशासनले जनाएको छ।
सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राई तथा आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।
बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली हिमलुङ क्षेत्रमा परिचालित छ।