ट्रेलर समीक्षा

आशा लाग्दो फिल्म बोक्सीको घर

आशा लाग्दो फिल्म बोक्सीको घर

  • कुराकानी

  • आइतवार, बैशाख २, २०८१

  • 1.5K
    SHARES
आशा लाग्दो फिल्म बोक्सीको घर

कुराकानी । झण्डै ७ वर्षअघि, २०७३ साल आसपासको कुरा । त्यो समयमा मण्डला नाटकघर थापागाउँ पुगेको थिएन, अनामनगरमै थियो । अनि नाट्य लेखक तथा निर्देशक सुलक्षण भारती पनि आफ्नो सेयर बोकेर सिनामंगलस्थित पुरानो घर पुगेका थिएनन्, मण्डलामै थिए ।

त्यो समयमा कलाकार सरिता गिरीको एकल अभिनयमा मञ्चन भएको नाटक हो, ‘बोक्सीको घर’ । यहि नाटक आठ वर्ष टेक्नै लाग्दा रंगमञ्चबाट फिल्म बनेर पर्दाहरुमा छाउने तयारी गर्दैछ, केकी अधिकारी फिल्मस्को ब्यानरबाट ।

त्यसो त, फिल्म बन्ने हल्ला चलेको पनि तीन पुरा भएर चार वर्षमा टेक्नै आँट्यो । लामो समयसम्म फिल्म चलबलाएको देखिएन । हरायो भनेर गाइँगुइँ चल्न थालेको बेला, एक्कासी टिजर सार्वजनिक भयो, त्यो पनि कुनै औपचारिक कार्यक्रम नगरी, युट्युवबाट मात्रै । जब टिजर सार्वजनिक भयो, यसले फिल्म ‘बोक्सीको घर’ प्रतिको चासो जगाउन थाल्यो ।

हरर अर्थात डराउने विधाका फिल्महरुमा नेपाली निर्माताले खासै स्वादिलो महसुस गर्न पाएका छैनन् । यसअघि प्रर्दशनमा आएका हरर भनिएका फिल्म कुनैले दर्शक हँसाए, कुनैले हलिउडका दृष्य चोरचार पारेर केहि हदसम्म आँङ सिरिङ्ग बनाए त केहि डराउने नाममा आफै हराए ।

खैर, हालसम्म डराउने विधामा बनेका फिल्महरुले खासै दर्शकको मन जित्न र निर्माता खुशी पार्न सकेका छैनन् । यहि विधामा बनेको फिल्म कठपुतलीले भने केहि हदसम्म दर्शक हलसम्म ल्याउन सफल भएको थियो, मार्केटिङको अनेकन् फण्डा निकालेर । जे होस्, डराउने विधाका फिल्मको अभाव महसुस भइरहेको समयमा ‘बोक्सीको घर’ टिजरले केहि आशा भने पलाएको छ ।

युट्युवबाट सुटुक्क टिजर र एक गीत सार्वजनिक गरेको यो टोलीले ‘बुझिन मैले, बुझाइदेउ कसैले’ बोलको गीत र ट्रेलर सार्वजनिक भने तामझामका साथ नै गरेको छ । यी दुबैले दर्शकको ध्यान तान्न पनि सफल भएका छन् ।

कस्तो छ त, फिल्म बोक्सीको घरको ट्रेलर

ट्रेलरको सुरुवात निकै सुन्दर छ । बाल विवाह हुने समयमा जब सानी बालिका बलात्कृत हुन्छिन्, उनलाई श्रीमानको माया भनेर आमाले सिकाइरहेकी हुन्छिन् । बालिकाले तपाईँलाई पनि बाबाले त्यस्तै गरेर माया गर्नुहुन्थ्यो हाे ? भन्ने संवाद निकै मार्मिक लाग्छ ।

ट्रेलरका हरेक दृष्यले अब के हुन्छ भन्ने उत्सुकता जगाउँछ, साथमा डर पनि । जति देखाइएको छ, त्यहाँ प्रयोग गरिएका प्रप्स र क्राफ्टहरुमा अध्ययन भएको देखिन्छ । समय देखाउनका लागि टुकी बत्ति, पात्रले पहिरिएका पहिरन लगायतले दर्शकलाई पुरानो समयमा लैजान सक्छ जस्तो देखिन्छ । ट्रेलर हेर्दा झाँक्री, रोटे पिङ लगायतको प्रयोग सहि ठाउँमा डराउने तरिकाले भएको छ जस्तो लाग्छ ।

ट्रेलरमा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिक र भ्वाइस ओभर मज्जा आउने खालको छ । नेपाली फिल्महरु प्रायः चिप्लने ठाउँ भ्वाइस ओभर पनि हो । त्यसमा राम्रो काम भएको जस्तो देखिन्छ ।

पिपलको बोट, जसले बच्चाबेलाको डरलाई पुर्नजागृत गराइदिन्छ । हो त्यहि पिपलको बोट, जसले चर्को घाममा छहारी दिन्छ । तर आफुभन्दा साना बिरुवा पाए सेप पनि लाग्छ । त्यहि पिपलको बोट, जसले न्याय निसाफको फैसला मात्रै हैन, अन्यायमा परेका मानिसको बिलाप पनि सुनिबस्छ । कसैका लागि भगवानको अवतार पिपलको बोट, कसैको मनसपटलमा डरलाग्दो आकृति बनेर उभिएको हुन्छ ।

फिल्मको ट्रेलरमा धेरै कथाहरु देखाइएको छ । तर त्यसलाई कत्तिको न्याय मिलेको छ, त्यो भने फिल्म प्रर्दशन भएपछि मात्रै थाहा हुन्छ ।

बोक्सी अन्धविस्वास हो । कमजोर र साहारा नभएका महिलालाई बोक्सीको आरोपमा मानव मलमुत्र खुवाउनेदेखि जिउँदै जलाउनेसम्मका प्रचलन नेपालमा अझै अन्त्य हुन सकेको छैन, चाहे कानुनका बोल्ड अक्षरमा जतिसुकै कडा कारवाही लेखिएको किन नहोस् ।

बोक्सीको घर फिल्ममा मानसिक स्वास्थ्यबारे उल्लेख गरिएको छ छैन, त्यो फिल्म प्रर्दशन पश्चात नै थाहा होला । तर बोक्सी मानसिकता मानसिक स्वास्थ्यसँग पनि जोडिएको कुरा हो । कुरिती र कुसंस्कारसँगै मानसिक स्वास्थ्यसँग पनि फिल्म जोडिएको छ भने, यसले बर्तमान समयको पनि कथा भन्नेछ ।

अन्त्यमा, नेपाली फिल्महरुमा ट्रेलर काट्ने भिडियो सम्पादकलाई सलाम गर्नैपर्छ । किनभने यसअघिका ट्रेलर आकर्षक लागेका फिल्महरु हलमा गएपछि फुस्सा भएका घटना धेरै छन् । ‘बोक्सीको घर’ फिल्मको पनि ट्रेलर कटिङ सुन्दर छ । फिल्मले यो साखलाई जोगाओस्, केकी अधिकारी सहित फिल्म निर्माण गर्ने सम्पुर्ण टिमलाई शुभकामना ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology