नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले देशको राजनीतिक तथा आर्थिक अवस्था सुदृढ नभएसम्म खेलकुद क्षेत्रले मात्रै एकल प्रयासमा अपेक्षित गति लिन नसक्ने बताएका छन्।
नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश कमजोर अवस्थामा रहँदा खेलाडीले मात्रै केही गर्न नसक्ने उल्लेख गर्दै हाल नेपालको अवस्था त्यही रहेको दाबी गरे।
खेलकुद विकासका लागि खेलाडीहरूको व्यक्तिगत मेहनत मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले देशको समग्र विकास र राजनीतिक स्थिरता अनिवार्य रहेको बताए। वर्तमानमा देखिएका राजनीतिक तथा प्रशासनिक कमजोरीको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा परेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले खेलाडीलाई भौतिक रूपमा सक्षम बनाउन, पोषण तथा खेलकुदका आधारभूत संरचनामा राज्यको विशेष ध्यान आवश्यक रहेको बताए। यसतर्फ सरकारको ध्यान पर्याप्त नरहेको संकेत पनि उनले गरे।
नेपाली खेलकुद क्षेत्रमा भइरहेको सरकारी हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै ओलीले राष्ट्रिय खेलकुद संस्थाहरू र संघ–संस्थालाई स्वतन्त्र, वैज्ञानिक र दिगो ढङ्गले अघि बढ्न दिनुपर्ने आवश्यकता औँल्याए। साथै, उनले हाल भइरहेका केही राजनीतिक आन्दोलनलाई ‘हिंसा र तोडफोड’ को संज्ञा दिँदै त्यस्ता गतिविधिले देशलाई सही दिशातर्फ लैजान नसक्ने टिप्पणी गरे।