मिडिया हाउसको गेटमै गाडी राखिएपछि प्रहरी परिचालन, अनुसन्धान सुरु

मिडिया हाउसको गेटमै गाडी राखिएपछि प्रहरी परिचालन, अनुसन्धान सुरु

घटनापछि काठमाडौंका प्रमुख सञ्चारगृह तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

  • कुराकानी

  • सोमवार, असार २९, २०८३

  • 1
    SHARES
मिडिया हाउसको गेटमै गाडी राखिएपछि प्रहरी परिचालन, अनुसन्धान सुरु

कुराकानी। काठमाडौंका विभिन्न सञ्चारगृहको मुख्य प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएपछि केही समय सुरक्षा सतर्कता बढाइएको छ।

अनलाइनखबर, कान्तिपुर मिडिया ग्रुप र हिमालय टेलिभिजनलगायतका सञ्चार संस्थाको गेट अगाडि बेवारिसे अवस्थामा गाडी राखिएको पाइएपछि कार्यालयमा आउने पत्रकार तथा कर्मचारीहरूलाई केही समय असहज भएको थियो। सञ्चारगृहको मुख्य प्रवेशद्वारमै सवारीसाधन राखिएपछि आवतजावतमा समेत समस्या देखिएको थियो।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले सुरक्षा सतर्कता अपनाउँदै ती सवारीसाधनलाई क्रेनको प्रयोग गरी हटाएको छ। प्रारम्भिक जाँचका क्रममा ती गाडीहरूमा कुनै विस्फोटक पदार्थ वा शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।

तर सञ्चार संस्थाजस्तो संवेदनशील स्थानको प्रवेशद्वारमै यसरी सवारीसाधन राखिनुको उद्देश्यबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। गाडी कसले राख्यो, किन राख्यो र यस पछाडिको कारण के हो भन्ने विषयमा प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज, सवारीसाधनको विवरण र अन्य प्रमाण संकलन गरिरहेको जनाएको छ।

घटनापछि काठमाडौंका प्रमुख सञ्चारगृह तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। पत्रकार तथा सञ्चार संस्थाको सुरक्षालाई लिएर पनि चासो बढेको छ।

यसैबीच, नेपाल पत्रकार महासंघले सञ्चार संस्थाको नियमित कामकाजमा अवरोध पुर्‍याउने र भयको वातावरण सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न, कानुनी कारबाहीको दायरामा ल्याउन र सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology