कुराकानी। बिहानको हल्का घाम, शान्त हावा र सास–प्रश्वासको लयसँगै फैलिएको मौनता। यही मौनताभित्र शरीर तन्किरहेका छन्, मन हलुका बन्दैछ। सिद्धिकाली योग साधना केन्द्र को आँगनमा हरेक बिहान देखिने दृश्य यही हो—जहाँ योग अभ्याससँगै जीवनको गति पनि सन्तुलित हुँदै जान्छ।

यहाँ योग गरिरहेका अनुहारहरूमा एउटै कुरा समान छ—महिलाहरूको उल्लेख्य उपस्थिति। पुरुष सहभागी पनि छन्, तर अभ्यासस्थलमा महिलाहरूको संख्या बढी देखिन्छ। गृहिणीदेखि कामकाजी महिलासम्म, विभिन्न उमेर समूहका महिलाहरू यहाँ स्वास्थ्य र आत्मशक्तिको खोजीमा एकै लयमा उभिएका छन्।

वि.सं. २०६६ सालमा स्थापना भएको यो केन्द्र करिब दुई दशक पुरानो हो। स्थापनाकालदेखि नै यहाँ निरन्तर रूपमा योग सत्रहरू सञ्चालन हुँदै आएका छन्। योगकै माध्यमबाट यहाँ आउने महिलाहरूले आफ्नो स्वास्थ्यमा सुधार गर्नुका साथै तनावमुक्ति र सकारात्मक जीवनशैली अपनाउँदै गएका छन्।

केन्द्रकी गुरु नु्छ्या माया प्रजापति को मार्गदर्शनमा चल्ने योग सत्रहरूमा अनुशासनसँगै अपनत्व झल्किन्छ। “योगले शरीर मात्र होइन, महिलाको आत्मबल पनि बलियो बनाउँछ,” उनी भन्छिन्।

बिहानको शान्त वातावरण, खुला स्थान र अनुशासित अभ्यासले महिलाहरूलाई दैनिक जीवनको तनावबाट मुक्त गराउँदै सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराइरहेको छ। सहभागीहरूका अनुसार यहाँ योग केवल आसनको अभ्यास होइन, यो त आत्मसँग संवाद गर्ने एउटा शान्त क्षण हो।












कृष्पा श्रेष्ठ