राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आगलागीबाट नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

  • कुराकानी

  • शुक्रबार, असार २६, २०८३

  • 8
    SHARES
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

कुराकानी। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर रूपमा जलेका उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो।

बिहीबार राहदानी विभागको गेट नम्बर ३ अगाडि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। घटनालगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीले तत्काल आगो निभाएर उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याएका थिए।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आगलागीबाट नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टामा गम्भीर चोट लागेको थियो। अवस्था जटिल भएपछि उनलाई आईसीयूमा राखेर बचाउने प्रयास गरिएको थियो।

सवारीसाधन चलाएर जीविकोपार्जन गर्दै आएका नेपालीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग पार्किङको विषयलाई लिएर विवाद र भनाभन भएपछि यस्तो अप्रत्याशित कदम चालेको प्रारम्भिक विवरणहरूले देखाएका छन्।

नेपालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले उनको सम्पूर्ण उपचार खर्च बेहोर्ने र थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (AIIMS) लैजाने तयारी गरिरहेको थियो। तर, स्वास्थ्य स्थिति अत्यधिक बिग्रिएका कारण उनलाई एयर एम्बुलेन्समार्फत विदेश लैजानुअघि नै अस्पतालमा निधन भएको हो।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology