कुराकानी। शिल्पी थिएटर बत्तिसपुतलीमा पवित्रा खड्काको निर्देशनमा तयार भएको नाटक ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ मञ्चन भइरहेको छ। फ्रान्सेली दार्शनिक तथा नाटककार झँ–पल सार्त्रको ला पेरेस्पेक्टुअजलाई, नेपाली परिवेशमा रूपान्तरण गरिएको यो नाटकले यौन, शक्ति, राजनीति, जातीय विभेद, साम्प्रदायिक हिंसा र सामाजिक पाखण्डमाथि प्रश्न गर्छ।

तस्बिर: कृष्पा श्रेष्ठ
सन् १९४७ मा प्रकाशित यस नाटक सन् १९३१ मा अमेरिकाको अलाबामामा घटेको सत्य घटना ‘स्कट्सबरो ब्वाइज’ बाट प्रेरित छ, जहाँ दुई गोरी यौनकर्मीहरुले लगाएको झुटो बलात्कारको आरोपमा नौ जना काला किशोरलाई कडा सजाय सनाइएको थियो। जुन पछि निराधार सावित भई अमेरिकाको नागरिक अधिकार आन्दोलनको एउटा महत्वपूर्ण प्रेरणा बनेको थियो। मिस मेनुकामा पनि यसै कथा र द्वन्द्वलाई नेपाली समाजको जातीय, वर्गीय र राजनीतिक संरचनासँग जोडेर मञ्चन गरिएको छ। कथाको केन्द्रमा छिन्, मेनुका, एक यौनकर्मी।

समाजले हेयका दृष्टिले हेर्ने पेशामा रहे पनि मेनुका सत्यको पक्षमा उभिने पात्र हुन्। उनि साक्षी बन्नुपरेको एक घटनाले यस्तो राजनीतिक र सामाजिक जालमा फस्छिन्, जहाँ सत्य बोल्नु भनेको शक्तिशाली मानिसहरूको हितविरुद्ध उभिनु हो।
रात्री बसमा तराई मूलका युवाको हत्या हुन्छ । घटनाको वास्तविकता मेनुकालाई थाहा छ। तर हत्याको आरोप अरविन्द पासवानमाथि लगाउने प्रयास हुन्छ। सांसद जगन्नाथ शर्मा र उनको परिवार आफ्ना मान्छेलाई जोगाउन सत्यलाई उल्ट्याउन थाल्छन्। यहीँबाट नाटकको मूल सत्य र शक्तिबीचको द्वन्द्व सुरु हुन्छ।
जगन्नाथको परिवारका लागि सत्यभन्दा प्रतिष्ठा ठूलो छ। राजनीतिक प्रभाव, जातीय अहंकार र पारिवारिक सम्बन्धको आडमा एउटा निर्दोषलाई अपराधी बनाउन खोजिन्छ। प्रहरीसमेत त्यही संरचनाको सहयोगीका रूपमा प्रस्तुत हुन्छ। नाटकले देखाउन खोजेकै, शक्तिशालीले झुटलाई पटक पटक दोहोर्यायो भने त्यो सत्यजस्तै स्थापित हुन्छ भन्ने हो।

सत्य र सम्झौताको बीचमा मेनुका
सरिता गिरीले मेनुकाको भूमिका प्रभावशाली ढंगले निर्वाह गरेकी छन्। मेनुका एकैपटक चञ्चल, हास्यपूर्ण, संवेदनशील र गम्भीर देखिन्छिन्। उनको चरित्रमा हास्य र त्रासदी सँगसँगै हिँड्छ। सुरुमा उनी सत्य बोल्ने कुरामा दृढ देखिन्छिन्। तर बिस्तारै शक्ति, डर, सामाजिक दबाब र व्यक्तिगत असुरक्षाले उनको त्यो दृढता कमजोर बनाउँदै लैजान्छ।
मेनुका अन्ततः आफ्नो स्वतन्त्रता जोगाउन सक्दिनन्। सत्यको पक्षमा उभिन चाहने पात्र कसरी शक्तिको संरचनाभित्र कमजोर हुँदै जान्छिन् भन्ने कुरा उनको चरित्रमार्फत देखाइन्छ। तर यही ठाउँमा नाटकलाई आलोचनात्मक रूपमा हेर्नुपर्ने ठाउँ पनि छ। मेनुकाको अन्तिम अवस्था उनलाई फेरि पृितृसत्तात्मक शक्तिको यौन वस्तुमा मात्रै सीमित गरिदिएको जस्तो देखाइएको छ। जसले गर्दा नाटकले उठाएको महिला स्वतन्त्रताको प्रश्नलाई केही हदसम्म कमजोर बनाउँछ।

शक्तिको अर्को अनुहार: विवेक र जगन्नाथ
घिमिरे युवराजले निर्वाह गरेको विवेकजंग शर्मा नाटकको सबैभन्दा अप्रिय पात्रमध्ये एक हो। हिंस्रक, षड्यन्त्रकारी, जातिवादी र शक्तिको दम्भले भरिएको पात्रलाई उनले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। उनको पात्र हेर्दा घृणा लाग्छ। तर त्यो घृणा केवल कलाकारप्रतिको होइन, पात्रले प्रतिनिधित्व गर्ने सामाजिक मानसिकताप्रतिको हो।

प्रभाकर देव शर्माको जगन्नाथ शर्मा भने फरक किसिमको खतरनाक पात्र हो। उनी कराउँदैनन्। बरु मीठो बोल्छन्, तर्क गर्छन्, भ्रम सिर्जना गर्छन् र आफ्नो पक्षलाई ‘राष्ट्रहित’ को आवरण दिन्छन्। उनको एउटा तर्कले नाटकको राजनीतिक मनोविज्ञान बुझ्न पर्याप्त आधार दिन्छ, सत्य एउटा मात्र हुँदैन, शक्तिले आफ्नो अनुकूल सत्य निर्माण गर्न सक्छ। नाटकले यही चरित्रमार्फत राजनीतिक वर्गले कसरी नैतिक अपराधलाई पनि राष्ट्र, समाज, प्रतिष्ठा वा ठूलो हितको नाममा वैध देखाउन खोज्छ भन्ने देखाउँछ।

अरविन्द: पीडित पात्रको मौनता
रूपेश मण्डलले निर्वाह गरेको अरविन्द पासवान नाटकको सबैभन्दा पीडादायी पात्र हो। आफ्नो ज्यान नै जोखिममा परेकाले भाग्दै हिँडेका उनी डराएका पात्र हुन् जो असहाय र निष्क्रिय देखिन्छन्। मण्डलले यो मनोविज्ञानलाई विश्वसनीय बनाएका छन्। तर चरित्र निर्माणका हिसाबले यही पक्ष नाटकको कमजोरी पनि बन्न पुग्छ। अरविन्दलाई पूर्ण रूपमा पीडितका रूपमा प्रस्तुत गरिएको छ। उनको आफ्नै इच्छा, प्रतिरोध र सक्रिय निर्णयका लागि पर्याप्त ठाउँ नाटकले दिएको छैन।

जुन नाटकले सीमान्तकृत समुदायको आवाज र अस्तित्वमाथि प्रश्न गरिरहेको छ, त्यही नाटकमा अरविन्दको मौनता अलि विरोधाभासपूर्ण पनि लाग्नसक्छ तर यहि नै नेपाली समाजको सत्य हो।
यौनकर्मीको कोठाबाट देखिएको नेपाली समाज
‘मिस मेनुका’को सबैभन्दा बलियो वैचारिक पक्ष भनेको, यसले नेपाली समाजलाई यौनकर्मीको कोठीबाट देखाउनु हो। समाजले ‘सम्मानित’ मानेका सांसद, व्यापारी, प्रहरी र शक्तिशाली पुरुषहरू नै यस कोठीमा सत्य खोज्दै आइपुग्छन् । जसलाई समाजले यही उल्टो चित्रणले नाटकको शीर्षकलाई अर्थपूर्ण बनाउँछ।

नाटकले मनमा प्रश्न उठाइदिन्छ, यो समाजले सम्मान कसलाई दिन्छ? नैतिक मानिसलाई कि शक्तिशाली मानिसलाई? तर यसको उत्तर असहज छ। सम्मान प्रायः नैतिकताले हैन, शक्ति र हैसियतले निर्धारण गर्ने रहेछ।
नेपालीकरणको सफलता
सार्त्रको मूल नाटकलाई नेपाली परिवेशमा ल्याउनु सजिलो काम होइन। तर कल्पना घिमिरे नुरिस्सोँको रूपान्तरणले मूल नाटकको शक्ति र जातीय विभेदको प्रश्नलाई नेपाली समाजसँग जोड्ने प्रयास गरेको छ। अमेरिकी रंगभेदको ठाउँमा नेपाली जातीय र क्षेत्रीय विभेद नाटकले देखाएको छ। शक्तिशाली राजनीतिक परिवार, मधेशी दलित युवा, प्रहरी र यौनकर्मीबीचको सम्बन्धमार्फत कथा स्थानीय बनाइएको छ।

त्यसैले यो केवल विदेशी नाटकको नेपाली भाषान्तरण मात्रै हैन। विदेशी कथ्यलाई नेपाली सामाजिक यथार्थसँग जोडेर फेरि अर्थ्याइएको सशक्त प्रस्तुति हो।
मञ्च, प्रकाश र ध्वनि
नाटकले मेनुकाको शयनकक्षलाई नै मुख्य सेट बनाएको छ। एउटै सेटमा कथा अघि बढाइएकाले मञ्च सजावटमा अनावश्यक तामझाम छैन। न त सेट परिवर्तनको हतारो नै। प्रकाशले विभिन्न दृश्यको वातावरण निर्माण गर्न सहयोग गरेको छ। बाहिरी संसार देखाउन भिडियोको प्रयोग गरिएको छ। यदि नेपाली भाषामा समस्या छ भने तपाईले नाटक अंग्रेजी सवटाइटलमा पनि हेर्न पाइन्छ। अभिनयतर्फ भने मुख्य कलाकारहरूले नाटकलाई सम्हालेका छन्। सरिता गिरी र घिमिरे युवराज लामो समय मञ्चमा देखिन्छन् र उनीहरूको संवाद तथा द्वन्द्वले कथा अघि बढाउँछ।

तर संवाद अलि अप्राकृतिक लाग्छ। बोलीचालीको भाषासँगै कहिले साहित्यिक त कहिले कुटनितीक संवादमा यो लेखिएको संवाद हो भन्ने बनाइरहन्छ। मौलिकतामा हराउन दिँदैन। रूपेश मण्डल र प्रभाकर देव शर्माको आगमनले एउटै सेटमा चलिरहेको कथामा ऊर्जा थप्छ। धनराज सुनार र गोविन्द ओलीका सहायक भूमिका पनि कथाका लागि आवश्यक छन्।

नाटकले दमनमा परेका पात्रहरूलाई अन्त्यसम्म प्रतिरोध गर्न सक्ने शक्ति दिँदैन। त्यसैले यसको अन्त्य केही हदसम्म निराशावादी लाग्न सक्छ। तर यही निराशाले नै समाज देखाएको छ । कमजोरले प्रतिरोध गर्न नसक्ने अवस्था सिर्जना हुनुको जिम्मेवार, व्यक्ति मात्र हो कि सम्पूर्ण सामाजिक संरचना?

‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ एउटा यौनकर्मीको कथा मात्र होइन। यो सत्य कसरी शक्तिको अगाडि कमजोर हुन्छ भन्ने कथा हो। यो जातीय विभेद, राजनीतिक संरक्षण, सामाजिक पाखण्ड र पृितृसत्तात्मक संरचनाको कथा हो।

नाटक काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । अब भदौ ६ गतेसम्म नाटक हेर्न पाईन्छ । मंगलवार थियटरको बिदा हुन्छ भने शनिवार दिउँसो १ बजे पनि नाटक हेर्न पाईन्छ । यदि तपाई १६ वर्ष पुगिसक्नुभएको हो भने नाटक अवस्य हेर्नुहोला है त।
पुष्पा थपलिया