ट्रेलर समीक्षा

कवितात्मक ‘मनसरा’

कवितात्मक ‘मनसरा’

लामो ट्रेलर कटाइमा यस्तो फिल्मको कथा नै अनुमान लगाउन सकिने खालको दृष्य नराखेको भए दर्शकलाई फिल्मप्रति अझै उत्सुकता जागाउन सकिन्थ्यो कि ।

  • कुराकानी

  • बुधबार, बैशाख १९, २०८१

  • 412
    SHARES
कवितात्मक ‘मनसरा’

कुराकानी । २०८० सालको अत्यधिक कमाइ गर्ने फिल्म जारीका निर्देशक उपेन्द्र सुब्बाले नयाँ फिल्म मनसरा लिएर आउँदैछन् ।

जारीमा निःसन्तान दम्पतीको कथा भनेका सुब्बाले मनसरामा सन्तानकै निउँमा परिवारमा मिसिन आएका मानिसको कथा भन्न लागेको जस्तो ट्रेलर हेर्दा देखिन्छ ।

फिल्मको नाम मनसरा, अर्थात एक प्रकारको धानको प्रजाती । जुन धानको पराल बलियो हुन्छ, भात खानलाई मिठो हुन्छ तर त्यो धानलाई सँगै अर्को धानको बिउ पनि मिसाएर रोप्नुपर्ने हुन्छ नत्र फल्दैन भन्ने मान्यता छ ।

फिल्ममा यसलाई कसरी देखाइएको छ त्यो भने हेर्न बाँकी नै छ ।

म जाबो अम्रिसो कुचो, हेर्दामा फुच्चो
बोलीमा सुन्दा छुच्चो न छुच्चो
छालाको रंग नै माकसुण्डा जस्तो
हेर्दामा खेरी पपण्डा जस्तो
हिड्दामा खेर अअण्डा जस्तो कहाँ पत्याउनुहुन्छ र हजुरले
हजुरनीको खुट्टामा नि सुहाउन्न होला म त !

डिस्क्लेमरः धेरैचोटी सुन्दा पनि ब्याकग्राण्ड म्युजिक उच्च भएकाले यहाँ लेखिएका शब्द सहि नहुन पनि सक्छ, यसलाई अन्यथा नलिइदिनुहोला 🤗

हो यहि कवितात्मक संवादसँगै फिल्मको ट्रेलर सुरु भएको छ ।

ट्रेलरमा राखिएका हरेक संवाद कवितात्मक छन् । जस्तै, ‘मिठो खुवा बनाउन शुद्ध दुध हुनुपर्छ, प्रेमलाई एउटा सफा निस्कपट मन चाहिए जस्तै । खुवा र प्रेम उस्तै उस्तै हो ।’ तर प्रेम र खुवा उस्तै भएपनि त्यहि खुवाको निउँमा सुरु हुन्छ श्रीमान श्रीमतीको द्वन्द्व ।

बाहुन, लिम्बुनी र नेवार्नीको बिचमा आखिर के कुराले फाटो हाल्यो होला त ? अनि बाहुन बाजे किन लिम्बुनीको छोरोको बाउ बन्न खोज्दैछ होला ? लिम्बुनी पनि हाँस्दै किन ‘बाउ बन्न सजिलो छैन बाजे’ भन्दैछे होली ?

यसको उत्तर फिल्मले दिन्छ भन्ने आशा छ । बैशाख २१ गते शुक्रबारबाट फिल्म प्रर्दशनमा आउँदैछ ।

ट्रेलरको कटिङमा समेत सिनहरुमा जम्प कट गरिएकाे छैन । एक दृष्यबाट अर्कोमा जाँदा कटिङ मिलाइएको छ । यसले फिल्मको सम्पादन पक्ष बलियो होला भन्ने देखिएको छ ।

त्यसो त, कवि उपेन्द्र सुब्बाले कवितात्मक फिल्म बनाउन खोजेजस्तो देखिन्छ । कवि बनेर कलाकार हुँदै निर्देशक बनेका सुब्बाले ‘केहि त गरेका छन्’ भन्ने दर्शकमाझ पार्न उनि सफल भएका छन् । अझ कवि विप्लप प्रतिकलाई समेत केमियोमै सहि झुलुक्क देख्न, पाउँदा मिठो पाक्दैछ भन्ने दर्शकमाझ ट्रेलरले छाप बसालेको छ ।

ट्रेलर हेर्दा फिल्मले अन्तरजातिय विवाह, एक्लो आमाले सन्तान हुर्काउँदा भोगेका समस्या, निःसन्तान दम्पतिको सन्तान मोह, बिछोडिएको प्रेम लगायतका जस्ता बिषय उठान गरिएजस्तो लाग्छ ।

ट्रेलरमा सबै पात्रहरु व्यवसायिक कृषि कर्ममा छन् । बाहुन भैंसी पाल्छ, खुवा बनाउँछ र बेच्छ । लिम्बुनी बुंगुर पाल्छे र बेच्छे । कृषि अनि खेतीपातीसँग जोडिएकाले यसले धेरै किसानलाई अपनत्व महसुस गराउँछ भन्ने पनि देखाएको छ ।

ट्रेलरमा एक दृष्य छ, जहाँ भैंसी लखेट्दै जाने क्रममा लिम्बुनी नुहाइरहेको टहरा भत्कन्छ र बाहुनले लिम्बुनीको नाङ्गो शरिर देख्छ । यो दृश्यले फिल्मका कथा फुस्कायो कि जस्तो भएको महसुस हुन्छ । लामो ट्रेलर कटाइमा यस्तो फिल्मको कथा नै अनुमान लगाउन सकिने खालको दृष्य नराखेको भए दर्शकलाई फिल्मप्रति अझै उत्सुकता जागाउन सकिन्थ्यो कि ।

ट्रेलरमा कविता मार्फत भनिएका संवाद ब्याकग्राउण्ड म्युजिकका कारण स्पष्ट हुँदैन । संवादलाई अलमलमा पार्नेगरी ब्याकग्राउन्ड म्युजिकको प्रयोग गरिएको छ । फिल्ममा यस्तो समस्या पक्कै छैन भन्ने आशा गरौं ।

कला र संस्कृतिले भरिएको कवितात्मक फिल्मले दर्शकको ध्यान तान्न सफल भएको छ । दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रविन खतिवडाको अभिनयले फिल्मलाई मौलिक बनाएको छ ।

जारीले भन्दा अझै धेरै आर्थिक उपार्जन सँगै कलात्मक रुपमा पनि फिल्म मनसरा सफल होस्, सम्पुर्ण टिमलाई शुभकामना । 🥰

हेर्नुस्, मनसरा ट्रेलरः

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology