कुराकानी। कास्कीको पोखरा महानगरपालिका २८ मा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।
शुक्रबार बिहान माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको बस ओख्ले भिरमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार दुर्घटनामा तीन छात्रा, एक छात्र र एक स्थानीयको मृत्यु भएको छ। मृत्यु हुने विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा अन्य अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका थिए। घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ।
बस दुर्घटना हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक तथा घाइतेसम्बन्धी थप विवरण संकलन गर्ने काम भइरहेको छ।